जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

सन्दीप लामिछानेविरुद्धको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा महान्यायाधिवक्ता कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको छ । असोज १० गते महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा उच्च अदालतको फैसलालाई सही मान्दै पुनरावेदनमा नजाने निर्णय गरेको जनाएको छ ।

उच्च अदालतको फैसला चित्त बुझेकाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा गत जेठ २ गते आधार र प्रमाण नपुगेको भन्दै सफाइ दिने फैसला गरेको थियो । दाहालका अनुसार नेपाल सरकार पुनरावेदनमा नजाँदा फैसला यथावत रहन्छ।

फैसलामा उमेर पुगेका व्यक्तिहरूबीच जबर्जस्ती करणीको १ नं विपरीत नभइ सहमतिमा भएको करणीलाई जबर्जस्ती करणी नमानिने भनेर सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई प्रस्तुत मुद्दाको उल्लिखित तथ्यहरूले अनुमोदन गरेको इजलासको ठहर छ । पीडित प्रतिवादीले आफूलाई जबर्जस्ती करणी भने पनि निज वारदातको समय १८ वर्ष पूरा भएको देखिएको फैसलामा उल्लेख गरिएको छ ।
अदालतले मिसिल संलग्न सिसीटिभी फुटेजको स्क्रिप्टसमेतका प्रमाणबाट अभियोग दाबी शङ्कारहित तवरले पुष्टि नभएको, पीडित र प्रतिवादीबीच होस्टल नजिकबाट प्रतिवादीको गाडीमा बसी नगरकोट गएको, रातको समयमा काठमाडौँ होटल इनमा बसी भोलिपल्ट प्रतिवादीले पीडितलाई निजको होस्टलमा पुर्याउँदाका अवस्थासम्मका उल्लिखित घटनाक्रमलाई विश्लेषण गरी हेर्दा जबर्जस्ती करणीको कसुर भएको मान्न मिल्ने अवस्था नदेखिएको ठहर छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने र गौशाला–२६ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर गरेको थियो । सो फैसलाविरुद्ध लामिछाने उच्च अदालत पाटनमा गएपछि अदालतमा उक्त मुद्दाको सुनुवाइपछि लामिछानेलाई सफाइ हुने ठहर गरेको हो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका