जोडिनुहोस
मङ्लबार, कार्तिक २७, २०८१
मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • साढे ११ सय खसीबोकामा ४६७ बिक्री, अझै २१८ ल्याउन बाँकी

साढे ११ सय खसीबोकामा ४६७ बिक्री, अझै २१८ ल्याउन बाँकी

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका निम्ति गएको आइतबारदेखि खसीबोका र च्यांग्रा बिक्री गरिरहेको छ । आइतबार, सोमबार र मंगलबार (आज) दिउँसोसम्म गरी कम्पनीले ४६७ खसीबोका र ८८ च्यांग्रा बिक्री गरेको छ ।

हालसम्म कम्पनीमा दाङ, नवलपुर र हेटौँडाबाट एक हजार १५६ खसीबोका ल्याइएको छ । यी तीन जिल्लाबाट कुल एक हजार ४०० खसीबोका ल्याउने भनिएको थियो । नवलपुरबाट २१८ खसीबोका ल्याउन बाँकी रहेको कम्पनीले जनाएको छ ।

नवलपुरबाट ५०० खसीबोका खरिद गर्ने निर्णय गरिएको थियो । त्यहाँबाट कम्पनीमा २८२ खसीबोका आइपुगेका छन् । नवलपुरबाट ल्याउन बाँकी खसीबोका पनि आज वा भोलि बिहानसम्म खाद्यमा आइपुग्ने बताइएको छ । खाद्यले यो वर्ष मुस्ताङबाट ३०० च्यांग्रा खरिद गर्ने निर्णय गरेको थियो । २८५ च्यांग्रा कम्पनीमा आइपुगेका थिए । यीमध्ये ८८ वटा बिक्री भए । अब कम्पनीसँग १९७ च्यांग्रा बाँकी छन् ।

कम्पनीले दाङबाट ४०० खसीबोका खरिद गर्ने भनिएको थियो । तर, कम्पनीको प्रादेशिक कार्यालयमा ३८६ खसीबोका आइपुगेका थिए । यस्तै, हेटौँडाबाट ५०० खसीबोका खरिद गर्ने निर्णय गरिएकामा खाद्यमा ४८८ वटा मात्र आइपुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी विभागीय सहायक प्रबन्धक ज्ञानु थापाले जानकारी दिइन् । उनका अनुसार, बाटोमा प्राविधिक कारणले मर्ने वा हिँड्न नसक्ने खसीबोकाको जिम्मा ढुवानी कम्पनी स्वयंले लिनुपर्नेछ । गत वर्षभन्दा यसपालि कम्पनीमा खसीबोका र च्यांग्रा कम मगाइएको छ । गत वर्ष एक हजार च्यांग्रा र दुई हजार खसीबोका बिक्री गरिएको थियो ।

यो वर्ष जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६६० रुपैयाँ तोकिएको छ । च्यांग्राको प्रतिकिलो एक हजार २२० रुपैयाँ कायम छ । कम्पनीले थापाथली प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिरहेको छ । प्रत्येक दिन बिहान ८ बजेदेखि बिक्री खुला गरिने थापाले जानकारी दिइन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका