जोडिनुहोस
  • होमपेज
  • नेपालगञ्जमा रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै

नेपालगञ्जमा रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै

बाँके। नेपालगञ्जमा ऐतिहासिक संस्कृतिका रुपमा रहेको रामलीलाप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा सञ्चालन भइरहेको रामलीला मञ्चनको १५७औँ संस्करण हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ । भारतको वृन्दावनबाट आएका कलाकारले गर्ने रामलीला मञ्चन हेर्न नेपालगञ्जवासी र टाढाटाढाबाट हरेक दिन राति सयौँको सङ्ख्यामा भक्तजन आउने गरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले बताए ।

‘रामलीला मञ्चनप्रति स्थानीयको रुचि र आकर्षण बढ्दै गएको छ, प्रत्येक दिन बढ्दै गएको भक्तजनको भीडबाट हामी उत्साहित छौँ’ उनले भने ‘रामलीला नेपालगञ्जको सांस्कृतिक पहिचान भइसकेकाले छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् ।’

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगन्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

नेपालगन्ज–२१ पुरैना नयाँबस्ती निवासी सिर्जना थापाले आफूहरु प्रत्येक वर्ष सपरिवार रामलीला हेर्न आउने गरेको बताए । सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाको भनाइ छ ।

उनका अनुसार १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १५३ र १५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । विसं १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुदैँ आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल वैश्यले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका