जोडिनुहोस
  • होमपेज
  • भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित

अन्तर्राष्ट्रिय

भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित

  • Sagarmatha TV
  • मङ्लबार, अशोज २९, २०८१
भारतबाट क्यानडाका ६ कूटनीतिज्ञ निष्कासित

काठमाडौं। भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई दिल्लीबाट निष्कासित गरेको छ । साथै क्यानडाबाट आफ्नो देशको उच्चायुक्त सञ्जय कुमार बर्मालाई फिर्ता बोलाएको छ ।

भारतले दिल्लीबाट निष्कासित गरेका क्यानडाका कूटनीतिज्ञहरुमा कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएला छन् ।
भारतीय विदेश मन्त्रालयले उनीहरुलाई १९ अक्टुबरको दिन राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ ।

क्यानडामा सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा क्यानाडा सरकारले भारतको हात रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक तिक्तता बढेको छ ।

क्यानडाले भारतका उच्चायुक्त सञ्जय कुमार बर्मा र अन्य भारतीय कूटनीतिज्ञहरु सन् हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ । क्यानडाले एक कूटनीतिक नोट पनि भारत पठाएको थियो ।

भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाई देश निकाला गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

सोमबार बेलुका भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ । हामीलाई क्यानडाको वर्तमान सरकारप्रति कुनै भरोसा छैन । त्यहीभएर भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ । हामीले क्यानडालाई भनिसकेका छौं कि ट्रुडो सरकारले जसरी भारतविरुद्ध अलगाववादी र अतिवादको समर्थन गरिरहेको छ । त्यसको विरुद्ध जवाफ दिने अधिकार भारतलाई छ ।’

भारतको यो निर्णयपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले राजधानी ओटावामा पत्रकार सम्मेलन गरी भारतलाई आफूहरुले हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाएका छन् ।

उनले भने, ‘क्यानडा र भारतबीच लामो समयदेखिको सम्बन्ध छ । व्यापार र वाणिज्यको लामो इतिहास छ । तर हामीले जे देखिरहेका छौं त्यो सैह्य छैन । भारतको सम्प्रभूता र क्षेत्रीय अखण्डताको क्यानाडाले पूर्णरुपमा सम्मान गर्दछ र हामीलाई विश्वास छ भारतले पनि हामीलाई त्यस्तै गर्ने छ ।’

यसैगरी भारतले निष्कासित गरेपछि दिल्लीस्थित क्यानडाइ मिसनका बरिष्ठ कूटनीतिज्ञ स्टिबर्ट ह्वीलरले भनेका छन्, ’भारतले लामो समयदेखि जे माग गरिरहेको थियो, त्यो माग क्यानडाले पूरा गरिदिएको छ । क्यानडाले आफ्नो भूमिमा क्यानडाकै नागरिकको हत्या मामिलामा भारतीय एजेन्ट र उनको भारत सरकारसँग जोडिएको सम्बन्धको ठोस प्रमाण भारतलाई बुझाइदिएका छौं । अब कदम चाल्ने पालो भारतको हो । भारतीय कदम दुवै देश र ती देशका नागरिकका जनताको हितमा हुनेछ । यो प्रकरणमा सहयोग गर्न क्यानडा सरकार तयार छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका