
काठमाडौं । प्रहरीले होमबहादुर फौजागमरको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । सुर्खेत लेकबेसी गाउँपालिका–२ घर भई बौद्ध बस्दै आएका ४३ वर्षीय फौजामगरको शव मंगलबार गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा फेला परेको थियो ।
उनको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गरेको प्रहरी वृत्त बौद्धको टोलीले हत्याको आरोपमा पाँचथरका अमृत मगर, सिन्धुपाल्चोकका भुवन श्रेष्ठ र इलामका विमला भट्टराईलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरुले कुटपीट गरेर फौजामगरको हत्या गरेको खुलेको छ । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।