जोडिनुहोस
  • होमपेज
  • जनताको चाहना बुझेर काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

जनताको चाहना बुझेर काम गर्न मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भूकम्प प्रभावित जिल्लाहरूमा सरकारी संरचना निर्माण कार्य छिट्टै सुरु गरिने बताए ।

आज जाजरकोट सदरमुकाममा भएको पत्रकार भेटघाटमा उनले परिवर्तित परिस्थितिमा जनताले नयाँ किसिमको कार्यसम्पादन खोजिरहेकाले जिम्मेवारी सम्हाल्ने सबैले जनताको चाहना बुझेर काम गर्नसमेत आग्रह गरे ।

मुख्यमन्त्री कँडेलले सरकारले योजनाको लागि बजेट विनियोजन गर्ने तर कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिए । उनले गत कात्तिक १७ गते गएको जाजरकोटलगायत क्षेत्रमा भूकम्पमा परेर क्षति भएका सरकारी संरचना प्रदेश सरकारले बनाउने र त्यसका लागि बजेट विनियोजन गरिएको बताए ।

‘उक्त बजेट कार्यान्वयन गर्नका लागि कार्यविधि निर्माण भइसकेको छ । अब काममा आलटाल नगरौँ’, मुख्यमन्त्री कँडेलले भने, ‘भूकम्पबाट प्रभावित भएका विद्यालय र स्वास्थ्य चौकी पुनर्निर्माणका लागि प्रदेश सरकारले विनियोजन गरेको ५० करोड रुपैयाँ परिचालनका लागि विद्यालय छनोट जारी छ ।’

विनियोजन गरिएको रकममध्ये २५ करोड जाजरकोट र तीन करोड रुकुम पश्चिमका लागि रहेकाले यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी भूकम्पबाट क्षतिग्रस्त विद्यालय र स्वास्थ्य चौकीको भवन निर्माण गरिने उनको भनाइ छ ।

यसैगरी कर्णालीको आन्तरिक आम्दानी न्यून रहेको अवस्थामा स्रोतको वृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने र प्रदेश सरकारले अगाडि बढाएका योजनाहरूमा भुक्तानीका लागि कुनै समस्या हुन नदिने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको भनाइ छ ।

‘प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट कात्तिकसम्म सबै योजनाहरूको ठेक्का आह्वानदेखि सम्झौता गरिसक्न सबैलाई निर्देशन दिइसकिएको छ । निर्णयका लागि मात्रै निर्णय गर्ने परिपाटीको अन्त्य गर्न र प्रदेशसभाले पारित गरेका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी कार्यान्वयनको तहमा लैजानका लागि कर्मचारीको भूमिका महत्वपूर्ण छ । योजना कार्यान्वयनमा कुनै विवाद देखिएको अवस्थामा स्थानीय तहसँग समन्वय गरी अगाडि बढ्न आग्रह छ’, उनले भने ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका