
काठमाडौं। कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु जाँच गर्दा दुई वटा गाडीबाट साढे २० लाख भारतीय रुपैयाँ बरामद गरेको हो।
यूपी ४५ एएस६६६३ नम्बरको भाडाको गाडीबाट ८ लाख र यूपी ४२ डीटी५७२१ नम्बरको गाडीबाट १२ लाख ५० हजार बरामद भएको कपिलवस्तु प्रहरीले जनाएको छ।
उक्त रकमसहित महाराष्ट्र प्रदेशको राइगट जिल्ला मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र सोही ठाउँका उमेश सखाराम खंडागलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसमा आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।