जोडिनुहोस
  • होमपेज
  • कृषि एम्बुलेन्सले किसानलाई राहत

कृषि एम्बुलेन्सले किसानलाई राहत

मुग्लिन– इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।

इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताए। उनका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार पाउने गरेको छ ।

कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उनले बताए। कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताए। उनले किसानको घरटोलमा नै पुगेर सागसब्जी संकलन गरी बजारसम्म लैजाने गरेको बताए।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले गत दुई आर्थिक वर्षमा ७५ प्रतिशत अनुदानमा कृषि समूहको साझेदारीमा तीनवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँघरमा उत्पादन भएका ताजा सागसब्जी बजारसम्म पुर्‍याउने काम कृषि एम्बुलेन्सले गरेको छ । वडा नम्बर १ को हात्तीवाङ, २ को हपनी र वडा नम्बर ७ को दाहाखानी क्षेत्रबाट ती कृषि एम्बुलेन्स सञ्चालन भइरहेको छ । वडा नम्बर १ र २ बाट चल्ने कृषि एम्बुलेन्स फिस्लिङ केन्द्रित छन्भने ७ नम्बरबाट चल्ने कृषि एम्बुलेन्स भरतपुर र मुग्लिन बजार केन्द्रित छ । कृषिजन्य उत्पादन बजार पुर्याउन मात्र नभई यहाँका स्थानीयले सस्तो भाडादरमा आवातजावत गर्न पाएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका