जोडिनुहोस
  • होमपेज
  • अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं– नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो । चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मंचलाई धन्यवाद दिए । नेपालमा पटक पटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उनले यस पटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताए ।

बाढीपहिरोको पछिल्लो घटना लगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उनले प्रवासका पार्टी कमिटीहरूले पनि योगदान गरेकोमा प्रशंसा गरे ।

उनले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरूको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेको पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा विपक्षी दलहरूको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिए ।

मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी कमिटीहरूले यस पटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका