
काठमाडौँ । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल र सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाइ आउँदो बुधबार एकैदिन गर्ने निर्णय गरेको हो ।
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन् । सर्वोच्चमा सिफारिस निरौला उच्च अदालत पाटन र पाण्डे तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।