जोडिनुहोस
  • होमपेज
  • पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छः अध्यक्ष कार्की

पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छः अध्यक्ष कार्की

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्ने बताएका छन ।

अध्यक्ष कार्कीले विकास निर्माणका काम र पुनर्निर्माणको काममा सरकार नीतिगत रुपमा स्पष्ट नभएको बताएका हुन् । उनले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि के कति बजेट लाग्छ र के कस्ता कामहरु गर्नुपर्छ भन्नेकुरामा सरकार प्रष्ट हुनुपर्ने बताए ।

उनले विकास निर्माणको काम र पुनर्निर्माणको कामका लागि स्पष्ट नीति र दीर्घकालिन सोँच हुनुपर्ने उल्लेख गरे । उनले विकास निर्माणको काममा पनि कुन क्षेत्रलाई प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने हो भन्नेमा सरकार स्पष्ट हुनुपर्ने बताए ।

उनले सरकारसँग बजेटको सिमितताका कारण पुनर्निर्माणको काम प्रभावित हुने अवस्था देखिएको बताए । उनले विपद्का कारण सडक सञ्जालहरु टुटेका कारण काम भइरहेका ठाउँमा पनि काम अवरुद्ध भएको बताए ।

यसले गर्दा विकास निर्माणको काम पछि धकेलिने अवस्था रहेको भन्दै सरकारले आफ्नो आन्तरिक स्रोत, साधन परिचालन गरेर बनाउँदै जानुपर्ने बताए । निजी क्षेत्र विपद्बाट धेरै नै प्रभावित भएको भन्दै राहत वितरणका लागि पनि नीतिगत सुधार आवश्यक रहेको उनले उल्लेख गरे ।

उनले भने– ‘विकास गर्छु र पुनःनिर्माणको पनि काम गर्छु भन्ने सम्भावना थोरै देख्छु । किनकी बजेटको सिमितता छ । कुनै दातृ संस्था आएको पनि देखिएको छैन । जति विकास आयोजनाहरु बन्दै गरेपनि केही महिना धकेलियो । दुई चार महिना काम गर्नसक्ने सम्भावना छैन । सडकका कारण कन्ट्रक्शनका सामान पु¥याउन सक्ने स्थिति छैन । विकासका कुरा धकेलिन्छ । तर आन्तरिक स्रोतले पनि बनाउँदै जानुपर्छ । राहत वितरणको सन्दर्भमा पनि नीतिगत सुधार गर्नुपर्छ ।’

सरकारले सडक, पुल लगायतका संरचना बनाउँदा दिगो रुपमा सोच्नुपर्ने उनले उल्लेख गरे । अध्यक्ष कार्कीले खोला किनारामा बस्ती बसाउन दिनु नहुने र पुल पनि हजारौँ वर्षको बाढीलाई थेग्नसक्नेगरी बनाउनुपर्नेमा जोड दिए । हरेक संरचनाहरु बनाउँदा विशेष अध्ययन गर्नुपर्ने उनको भनाई छ ।

उनले भवन निर्माणको मापदण्ड राज्यले कडाइपूर्वक लागू गर्नुपर्ने बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका