काठमाडौं। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले एक सय १२ बोरा चिनी बरामद गरेको छ ।
भारतबाट अवैध रूपले नेपाल ल्याई गोदाम गरी राखेको भन्ने सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाइ र राजश्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो ।
बरामद चिनी राजश्व अनुसन्धान कार्यालय लैजाने क्रममा तस्कर समूह र स्थानीय व्यक्तिसहितको भीडले बाटो अवरुद्ध गरी ढुङ्गामुढासमेत प्रहार गरेका थिए । त्यसलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरको कमाण्डमा खटिएको ७० जनाको टोलीले भीडलाई तितरबितर पारी बरामद चिनी राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।
भीडले ढुङ्गामुढा गर्दा दुई जना सशस्त्र प्रहरी घाइते हुनुका साथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लुम्बिनीको गाडीमा समेत क्षति पुगेको छ ।