भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयका उच्च अधिकारीसहित उहाँ निर्माणस्थलमा पुग्नुभएको हो । निरीक्षणपछि मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिनुभयो । त्यस क्रममा उहाँले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताउनुभयो ।
काठमाण्डौको शहरी तथा यातायात व्यवस्थापन गर्न महत्त्वपूर्ण हुने अपेक्षा राखिएको यो फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिनुभयो । निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत रहनुभएको थियो ।
२०७८ साल फागुन १२ गतेदेखि निर्माण शुरू भएको फ्लाई ओभर आउँदो पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । ३० मिटर स्पानको चार लेनको पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाण्डौले गरिरहेको छ ।