राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धी निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतका सहरजिष्ट्रार एवं प्रवक्ता अच्युत कुईकेलका अनुसार, अदालतको बुधबार आदेशपछि अवहेलनाको निवेदन दर्ता भएको हो । सहकारी ठगीको आरोपमा रवि लामिछाने पक्राउ परेपछि रास्वपाका केन्द्रीय पदाधिकारीहरू सहितका कार्यकर्ताले पोखरामा प्रदर्शन गर्दै आइरहेका छन् । अदालतबाट म्याद थप गरी थुनामा राखिएको घटनामा सडक प्रदर्शन गरेर रास्वपाका केन्द्रीय पदाधिकारीहरुले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा अवहेलनाको निवेदन दर्ता गरेका थिए । तर, सुरुमा अदालतले यो निवेदन दर्ता गर्न मानेको थिएन । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश विनोद शर्माको इजलासले निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश बदर गरेको थियो ।