जोडिनुहोस
  • होमपेज
  • वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै

वडाध्यक्षमा एमालेका काकासँग कांग्रेसबाट भतिजा भिड्दै

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन रोचक हुने देखिएको छ । साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले काका–भतिजालाई वडाध्यक्षका रुपमा अघि सारेकाले उपनिर्वाचन रोचक हुने भएको हो ।

आगामी मंसिर १६ हुने उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि एमालेले बहादुर चन्द र कांग्रेसले प्रकाश चन्दलाई उम्मेदवार बनाएको छ। दुवैजना चुनावी प्रचार–प्रसारमा लागिसकेका छन् ।

एमाले उम्मेदवार बहादुर चन्द र कांग्रेस उम्मेदवार प्रकाश चन्द एकाघरका काका–भतिजा हुन् । कांग्रेस उम्मेदवार प्रकाशका बुवा धनबहादुर र एमाले उम्मेदवार बहादुर दाइभाइ हुन् ।

धनबहादुर र उम्मेदवार बहादुर प्रताप चन्दका छोरा हुन् । एमाले उम्मेदवार बहादुर सेवानिवृत्त शिक्षक हुन् । उनी केही समयअघि स्थानीय शान्ति निकेतन माविको प्रधानाध्यापकबाट सेवानिवृत्त भएका थिए । उनले उक्त स्कुलमा ४१ वर्षसम्म पढाएका थिए ।

कांग्रेसले अघि सारेका वडाध्यक्षका उम्मेदवार प्रकाश पार्टीका वडा सभापति हुन् । उनले भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट कांग्रेसको राजनीति गर्दै आएका छन् ।

नेविसंघ कञ्चनपुरको सचिव भइसकेका प्रकाश ०६४ सालमा महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापतिका उम्मेदवार थिए ।

दाइका छोरासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार बहादुर चन्दले उपनिर्वाचनका लागि आफूहरू मात्रै पात्र भएको प्रतिक्रिया दिए । उनले श्रीमान–श्रमितीको समेत विचार अलग–अलग हुने तर्क गर्दै काका–भतिजाको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिएको बताए ।

‘बहुदलीय प्रतिष्पर्धामा बाउ–छोराका विचारहरू अलग–अलग हुन्छन् । श्रीमान–श्रीमतीका विचार अलग हुन्छन् । भतिजोको विचार कांग्रेस तिर, मेरो कम्युनिस्टतिर,’ बहादुरले खबरहबसँग भने, ‘यो स्वाभाविक हो, वैचारिक झुकाव त भइहाल्छ । हामी त निर्वाचनका पात्रमात्रै हौं । हार–जीत कांग्रेस–एमालेको हुने हो । हामी घरको त काका–भतिजा नै हौँ त ।’

कांग्रेस उम्मेदवार प्रकाशले एमाले उम्मेदवार बहादुरलाई काकाभन्दा प्रतिस्पर्धीका रुपमा हेरेको बताए । उनले पार्टीले जिम्मेवारी दिएर पठाएपछि आफू उम्मेदवार बनेको पनि बताए ।

‘म राजनीतिक पृष्ठभूमिबाट आएको हुँ । मलाई काका लडे पनि वा अरु कोही लडे पनि केही छैन । उहाँ (बहादुर) अब काकाभन्दा पनि एमालेको उम्मेदवार हो,’ प्रकाशले खबरहबसँग भने, ‘घरको नाता छँदै छ, उम्मेदवार भइसकेपछि को लड्छ, के लड्छ भन्ने कुरो गौण हो । पार्टीका साथीहरूले मलाई अघि सार्नुभयो । पार्टीले जिम्मेवारी दियो । मैले पार्टीका तर्फबाट लड्ने हो ।’

गत पुस २५ गते राति वडाध्यक्ष महेन्द्र खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि वडा नम्बर ६ मा उपनिर्वाचन हुन लागेको हो । खड्का वडा नम्बर ६ कै ऐंठपुरमा पर्ने महाकाली सिँचाइको नहरको बाटोमा पुस २६ गते बिहान म १ प ४८५२ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका थिए ।

०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार जनकराज अवस्थीलाई ४०४ मतले पराजित गर्दै खड्का कांग्रेसबाट वडाध्यक्ष भएका थिए ।

खड्का ११०२ मतसहित वडाध्यक्षमा निर्वाचित हुँदा निकटतम् प्रतिष्पर्धी अवस्थीले ६९८ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ४८७ मतसहित तेस्रो हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार जितेन्द्रबहादुर चन्दले २३२ मत प्राप्त गरेका थिए ।

उपनिर्वाचन हुने वडा नम्बर ६ मा एमाले कांग्रेसको गढ भत्काउने प्रयासमा छ । उता कांग्रेस पुरानो विरासत जोगाउने कोसिसमा छ । यो वडामा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलदेखि बहालवाला अर्थमन्त्री ९आर्थिक मामिला० बहादुरसिंह थापाको गृहगाउँ हो ।

एकीकृत समाजवादीका प्रदेश सांसदहरू प्रकाश रावल र माया पन्तको पनि वडा नम्बर ६ मै मतदाता नामावली छ । प्रकाश रावलले सुदूरपश्चिम प्रदेशका सरकारका पूर्व आर्थिक मामिला मन्त्रालय र पन्तले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हालिसकेका छन् ।

वडा नम्बर ६ घर भएका चारमध्ये दुई (बहादुरसिंह थापा र प्रकाश रावल) प्रत्यक्ष निर्वाचन प्रणालीतर्फबाट र दुई (राजेन्द्रसिंह रावल र माया पन्त) समानुपातिक प्रणालीबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् ।

यो वडामा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, एकीकृत समाजवादीले जितेन्द्रबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रामदत्त भट्ट मैदानमा देखिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका