राजनीति
अध्यक्ष अग्रवालको गुनासो– मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा पर्न सकेन
काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको २८ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले वर्तमान सरकार र अर्थमन्त्रीप्रति निजी क्षेत्रको ठूलो आशा भएपनि आशा गरे जस्तो काम हुन नसकेको गुनासो गरेका हुन् ।
उनले सरकारले शिथिल र मन्दीबाट माथि उठाउने धेरै प्रतिबद्धता आएपनि अर्थतन्त्रलाई सुधार गर्नेको लागि प्राथमिकतामा पर्न नसकेको बताए । उनले विगतमा लगाएका नियन्त्रणमुखी नीतिहरू अहिले पनि सरकारले परिवर्तन गर्न नसकेको बताए । उनले अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले देखिएको दाबी गरे ।
उनले मुलुकका आर्थिक स्रोतलाई सही रूपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने सम्भावना रहेको बताए । उनले आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौँ भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औद्योगिक क्षेत्र सुधार हुने बताए ।
उनले भने ‘धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेका छन् । विदेशमा बैंकले ऋण मात्रै दिँदैन । कन्सल्टेण्डको पनि काम गरिरहेको हुन्छ । नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार बैंकको कालोसूचीमा परेको तथ्याङ्क छ भने पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचीमा परेका छन् । बैंकमा सम्पत्ति राखेर ऋण लिएको छ । यस्ता समस्याले अहिले अर्थतन्त्रमा मन्दी आयो । घरजग्गाको मूल्य कम भएर गयो । शेयर मार्केट ग्रसित भएर गयो । बैंकको उच्च रूपमा ब्याजदर वृद्धि भएकाले पनि त्यो समयमा बैङ्कहरू कालोसूचीमा पर्न गए । उद्योगी व्यवसायीहरूलाई क्यापिटल फर्ममेसनको आवश्यकता छ । अहिले पनि सरकारले नीतिहरू परिवर्तन गरेको छैन । तीन वर्षको बीचमा लिएका सङ्कुचित नीति परिवर्तन भएका छैनन् । अर्थतन्त्रमा देखिएका अप्ठ्याराहरू सरकारको नीतिगत कारणले आएको हो । मुलुकका आर्थिक स्रोतलाई सही रूपमा चलाउन सक्यो भने दक्षिण एसियाकै उच्च आम्दानी गर्ने मुलुक बन्ने क्षमता छ । वर्तमान सरकार आएपछि मुलुकको आर्थिक सुधार हुने आशा पलाएको थियो । सरकारको प्रतिबद्धता धेरै आयो । तर आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेको छैन । आर्थिक सुस्तता र मन्दीको अवस्थाबाट छिटो उन्मुक्ति पायौँ भने मात्रै समग्र अर्थतन्त्रका स्टार्टअप र औद्योगिक क्षेत्र सुधार हुन्छ ।’
उनले केही समय अघि उच्च रूपमा बैंकको ब्याजदर वृद्धि हुँदा व्यवसायीहरूले ऋण तिर्न नसक्दा धेरै उद्योगी व्यवसायीहरू बैंकको कालोसूचीमा परेको बताए । उनले नेपालमा पछिल्लो ३० वर्षमा १ लाख १० हजार र पछिल्लो दुई वर्षमा ७५ हजार बढी कालो सूचिमा परेको बताए । उनले निजी क्षेत्रको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा शिथिलता आएको बताए । उनले अर्थतन्त्रमा शिथिलता आएसँगै पछिल्लो समय घरजग्गाको मूल्यमा गिरावट, शेयर मार्केटमा सुस्तता आएको बताए । उनले अहिले उद्योगी व्यवसायीहरूलाई क्यापिटल फर्ममेसनको आवश्यकता रहेको बताए ।