
किमाथाङ्का। सङ्खुवासभाको किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन्। नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र रहेका छन्। भन्सार कार्यालयमा कर्मचारी विहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन्।
किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको भरमा छाडिएको छ। भन्सार कार्यालयका प्रमुख बलबहादुर श्रेष्ठको भैरहवा भन्सार कार्यालय सरुवा भएपछि कार्यालय सहयोगीको भरमा छ।
उत्तरी क्षेत्र किमाथाङ्कामा विसं २०३५ मा भन्सार कार्यालय स्थापना भएको थियो। द्वन्द्वका कारण भोटखोलाको हटियामा रहेको सीमा भन्सार विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा रहेको छ। भन्सार कार्यालय अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालय भवनमा राखिएको छ। उता किमाथाङ्का सीमा भन्सार कार्यालयले करिब २३ वर्षदेखि सदरमुकाम खाँदबारीमै राखेका कारण सेवाग्राहीले सास्ती पाइरहेका छन्।
किमाथाङ्का सीमा भन्सारको कामका लागि तीन–चार दिनको पैदल यात्रा तय गरेर सेवाग्राहीले राजस्व बुझाउन सदरमुकाम खाँदबारी नै आउनुपर्ने बाध्यता रहेको छ। भन्सार कार्यालय सदरमुकाममै भएपछि सेवा झन्झटिलो भएको हो।
उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आए पनि भन्सार कार्यालय नहुँदा भोट खोलावासीले सास्ती पाएका छन्। भन्सार कार्यालयले गत वर्ष रु ७५ हजार ५५७ राजस्व सङ्कलन भएको थियो।
जेठ १२ गते नाका सञ्चालनमा आएपछि किमाथाङ्का भन्सार कार्यालयले रु एक लाख ८० हजार राजस्व सङ्कलन गरेको छ। किमाथाङ्का नाकाबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक, जुडिबुटीलगायत सामान आयातनिर्यात गर्दा तीन–चार दिन पैदल हिँडेर सदरमुकाम खाँदबारी आउनुपर्ने बाध्यता छ।
किमाथाङ्कावासी सीमापारीको चाँगा, देन्दाङ बजारमा सिमापासका आधारमा चिनियाँ बजारमार्फत सामान आयात गर्दै आएका छन्। किमाथाङ्का सीमा भन्सार नाकामा ८० प्रतिशतभन्दा बढी चौरीको पुच्छर आयात हुने गरेको छ। खाँदबारीदेखि किमाथाङ्काको दूरी एक सय ६२ किमि छ ।