काठमाडौं। बिहानीपख बाक्लो हुस्सु र कुहिरोले ‘भिजिबिलिटी’ कमजोर हुँदा मुलुकको हवाई उडान प्रभावित भएको छ । विशेष गरी तराई क्षेत्रका विमानस्थलमा हवाई उडान अवरुद्ध भइरहेको छ ।
पछिल्लो एक सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सु र कुहिरोले उडान प्रभावित भएको छ । गत बिहीबार थाइल्याण्डको बैंककबाट आएको थाइ एयर एसियाको विमान भैरहवा माथिको आकाशमा करिब एक घण्टा फन्को लगाउने ‘होल्ड’ भएको थियो । केही दिनयता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कमजोर हुदाँ अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेका छन् ।
बिहानका लागि निर्धारित उडान ‘डिले’ हुने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार बिहान हुस्सु र कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भइरहेको छ ।