काठमाडौं। गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्। चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो।
काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले पुष्टि गरे।
लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन्। उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए।
२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। त्यसबेला तत्कालीन सांसद नवीना लामा उनलाई छुटाउन गएपछि विवादसमेत भएको थियो।
सत्यमान पटकपटक ठगी गरेको आरोपमा पक्राउ परेका थिए। उनलाई अपराध महाशाखाले काभ्रेको तेमालमा भूकम्प पीडितका लागि अस्पताल बनाउँछु भनी एक करोड ७५ लाख ठगेको आरोपमा पक्राउ गरेको थियो।
प्रवक्ता एसपी अधिकारीले पक्राउ परेका लामालाई सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने जानकारी दिए।