वैकुण्ठ अर्यालले मुख्यसचिव पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारी तोकिएका डा. वैकुण्ठ अर्यालले आज पदबाट राजीनामा दिनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
गएको कात्तिक १४ गते भ्रष्टाचारको मुद्दामा अदालतबाट सफाइ पाएपछि अर्याल हिजो मात्रै राष्ट्रिय योजना आयोगमा हाजिर हुनुभएको थियो । तर आज उहाँले राजीनामा दिनुभएको हो । अब उहाँको राजीनामा स्वीकृत गर्नेरनगर्ने मन्त्रीपरिषद्ले निर्णय गर्नेछ ।
अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गएको असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि मन्त्रिपरिषद् बैठकले योजना आयोगमा विशिष्ट श्रेणीको मुख्यसचिव सरहको पद सिर्जना गर्दै सरुवा गरेको थियो । मुद्दा चल्दै गर्दा उहाँको पद निलम्बनमा थियो ।