काठमाडौं। श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले मन्त्रिपरिषद् गठन गरेका छन् ।
मन्त्रिपरिषद्का सदस्यहरुले आज कोलम्बोस्थित राष्ट्रपतिको कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका हुन् । श्रीलंकाको संविधानको धारा ४६ अनुसार मन्त्रिपरिषद्मा कुल ३० सदस्य हुने प्रावधान छ । ४० जनाभन्दा बढी उपमन्त्री नियुक्त गर्न नपाउने व्यवस्था छ । राष्ट्रपति दिशानायकेले तत्काल २२ सदस्यीय मन्त्रीपरिषद् गठन गरेको बताइएको छ ।
अर्थ, रक्षा र प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रपति दिशानायके स्वयम्ले राख्नुभएको छ । प्रधानमन्त्रीमा पुनः हारिणी अमारासुरियालाई नियुक्त गरेका छन् । उनलाई शिक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । त्यस्तै विजिथा हेरथलाई विदेश, वैदेशिक रोजगार र पयर्टन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्सँगै आजै उप–मन्त्रीहरुको समेत पद तथा गोपनियताको सपथ हुने बताइएको छ । नवगठित मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै राष्ट्रपति दिसानायकेले हालै सम्पन्न निर्वाचनले श्रीलंकामा विभाजनकारी राजनीतिको अन्त्य गरेको बताए ।
यही नोभेम्बर १४ मा भएको संसदीय निर्वाचनमा राष्ट्रपति दिसानायकेको राष्ट्रिय जनशक्ति (एनपीपी) गठबन्धनले २ सय २५ सिटमध्ये १ सय ५९ सिटमा जित हासिल गरेको थियो । नयाँ संसद् सत्र भने २१ नोभेम्बरमा सुरु हुने बताइएको छ । जसमा सभामुख र अन्य पदहरुका लागि मतदान हुनेछ ।