अन्तर्राष्ट्रिय
अपदस्थ प्रधानमन्त्री हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने मोहम्मद युनुसको भनाइ

काठमाडौं। बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग आफ्नो प्रशासनले माग गर्ने बताएका छन् ।
जुलाई–अगस्तमा बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भारत पलायन भएका थिए । त्यसलगत्तै अगस्त ८ मा युनुसलाई बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त गरिएको थियो । उनले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका हुन् ।
सम्बोधन गर्दै युनुसले आन्दोलनका क्रममा सयौंको ज्यान गएकोमा जिम्मेवार रहेका हसिनालगायत सबैलाई अन्तरिम सरकारले कारबाही गर्नेसमेत स्पष्ट पारे । हसिनाको कार्यकालमा बेपत्ता पारिएका र मानवअधिकार उल्लङ्घनका विषयमा समेत छानबिन गरिने उनको भनाइ छ ।
हसिना र उनका सहयोगीहरूको गिरफ्तारीका लागि ‘रेड कर्नर’ नोटिस जारी गर्न बंगलादेशले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग माग गरेको छ । आफूले हसिनाको विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालत–आईसीसीका मुख्य अभियोजककर्ता करिक खानसँग पनि कुरा गरेको भन्दै उनले यो विषय आईसीसीले छानबिन गर्नुपर्ने माग गरे ।
युनुसले आफ्नो सरकारको महत्त्वपूर्ण काम निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न निर्वाचन गराउनुभएको स्पष्ट पारे । आफ्नो प्रशासनले निर्वाचन प्रणालीलगायत विभिन्न क्षेत्रमा सुधार गर्ने र सुधार भएपछि नयाँ निर्वाचनको खाका प्रस्तुत गर्ने वाचा उनले गरे । उनले अल्पसंख्यक, विशेष गरी हिन्दूहरूमाथि आक्रमणको रिपोर्टलाई बढाइचढाइ विश्वसामु प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।