
सप्तरी। सप्तरीको राजगढ गाउँपालिका– ४ बाट १७ क्विन्टल ३६ केजी गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका– ४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । ट्रिपर चालक धनकुटाको शहीदभूमि गाउँपालिका– ३ का ३३ वर्षीय यमजित राई पक्राउ परेका छन् ।
निजलाई आज अदालतमा पेस गरिने छ । उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।