अन्तर्राष्ट्रिय
पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानको इस्लामाबादमा प्रदर्शन
काठमाडौं। पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानको तारिख–ए–इन्साफ–पीटीआईका कार्यकर्ताहरुले राजधानी केन्द्रित प्रदर्शन गर्दैछन् । इस्लामावादतर्फ अग्रसर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
इमरान खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमीन गण्डापुरसहित पीटीआईका कार्यकर्ता इस्लामावादतर्फ लाग्दा झडप भएको हो । प्रदर्शनकारीहरु देशका विभिन्न क्षेत्रबाट इस्लामावाद प्रवेश गरिरहेको बताइएको छ । भिडलाई तितरबितर गर्न प्रहरीले अश्रु ग्याससमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आन्दोलनका नेतृत्वकर्ताहरुले पूर्वप्रधानमन्त्री खानको रिहाइ नभएसम्म प्रदर्शन जारी रहने बताएका छन् । पीटीआईको प्रदर्शनअघि नै इस्लामावाद प्रहरीले राजधानीमा धारा १ सय ४४ लागु भएको र कानुन उल्लङ्घन गर्नेमाथि कडा कारबाही गर्ने बताएको थियो । कुनै पनि गैरकानुनी गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।
पीटीआई कार्यकर्ता इस्लामावादतर्फ बढेसँगै प्रशासनले मुख्य सडक बन्द गरेको जनाएको छ । विमानस्थल लगायतका सार्वजनिक स्थलमा सुरक्षा बढाइएको छ । पैदल यात्रुलाई समेत हिँडडुलमा प्रतिबन्ध लगाइएको छ । इस्लामावादका डेपुटी कमिस्नर इरफान नवाज मेमनले राजधानीको अवस्थालाई ध्यानमा राख्दै सोमबार सबै शैक्षिक संस्थाहरू बन्द रहने बताउनुभएको छ ।
यस्तै इन्टनेट सेवा समेत बन्द गरिएको बताइएको छ । प्रहरीले इस्लामावाद र रावलपिंडीबाट पीटीआईका ३ सय ८० कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।