जोडिनुहोस
  • होमपेज
  • सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सीधा हवाई उडान शुरू गर्न पहल

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सीधा हवाई उडान शुरू गर्न पहल

पाँच दिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्त्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अङ्गकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवद्र्धन गर्न सीधा हवाई सेवा शुरू गर्नुपर्नेमा जोड दिनुभयो । यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ ।

नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो । भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो । सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिनुभएको छ ।

प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् (आईपीटीपी) को अन्तर–संसदीय सभा उत्कृष्ट मञ्च भएको उल्लेख गर्नुभएको छ । पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको राजधानी नोम पेन्ह पुग्नुभएका सभामुखले हिजो सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११औं पूर्ण सत्रलाई सम्बोधन गर्नुभएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका