जोडिनुहोस
  • होमपेज
  • राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ

राजमानलाई भोट माग्दै कीर्तिपुर पुगे धरानका मेयर हर्क साम्पाङ

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौंको कीर्तिपुर नगरपालिकामा भइरहेको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई भोट माग्न आइपुगेका छन् । यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको मेयर पदको उपनिर्वाचनमा साम्पाङले स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई समर्थन गर्दै भोट मागिरहेका छन् । सोमबार काठमाडौं आइपुगेका साम्पाङले महर्जनलाई भोट दिन आग्रह गर्दै घरदैलो गरिरहेका छन् । आफू जस्तै काममा विश्वास गर्ने मान्छे कीर्तिपुरमा देखेपछि महर्जनलाई समर्थन गर्न आइपुगेको साम्पाङले बताए । कीर्तपुरका सरसफाइ अभियन्ता महर्जनलाई समर्थन गर्दै अर्का स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ पछि हटिसकेका छन् । मंसिर १६ गते हुने उपनिर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिँदैछन् । तीनजना बढी स्वतन्त्र उम्मेदवारलाई मिलेर अघि बढ्न दबाब परेको छ। कीर्तिपुरको मेयरसहित वडा नम्बर १ र ४ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ । धरानमा हर्क साम्पाङ २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रकासमेत उम्मेदवारलाई हराउन सफल भएका थिए । लौरो लिएर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका उनी आश्चर्यजनक परिणामसहित धरानको मेयर बने । उनले गत वैशाखमा इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा पनि पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई सघाएका थिए । तर त्यहाँ नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए। हर्क साम्पाङ आफैं मुढा बोकेर भोट माग्दै हिँडे पनि थेगिमले उल्लेख्य भोट ल्याए तर जित निकाल्न सकेनन् ।

 

प्रचलन खबर

धेरै टिप्पणी गरिएका