काठमाडौं। काठमाडौं महानगरपालिकाले शहरीकरणले क्षय भएको ’ब्लु ल्यान्डस्केप’ अर्थात् नदी, पोखरी, तलाउ, धारालगायत पानीजन्य प्रणाली र ’ग्रीन ल्यान्डस्केप’ अर्थात् बगैँचा, पार्क, खुला हरियाली ठाउँको जीवन्तता प्राप्त गर्ने विषयमा पूर्व सम्भाव्यता अध्ययन शुरू गरेको छ । गएको असोज १७ गतेदेखि शुरू भएको अध्ययन आउँदो चैत १८ गते सकिनेछ ।
अध्ययन आकाशे पानी सङ्कलन र भूमिगत पानी पुनर्भरण, कोरिडोरलाई हरियाली र ‘इकोलोजिकल’ चक्र नवीकरण, बाग्मतीसहित उपत्यकाका नदी प्रणालीमा हरियाली, सडक सञ्जाल र तरल फोहर प्रशोधन सेवा, अनौपचारिक बस्ती व्यवस्थापन कार्ययोजना र नमूना परियोजना तथा शहरी वन, पार्क एवम् खुला ठाउँको उपलब्धताका विषयमा केन्द्रित हुनेछ ।
शहरी योजना आयोगका सदस्य बाबुराम भट्टराईका अनुसार यसअघि गरिएका प्रयत्न क्षेत्रगत मात्र भएका कारण अपेक्षित नतिजा प्राप्त हुन सकेको छैन । विगतको कमजोरी सच्याउँदै एशियाली विकास बैंक (एडीबी) को प्राविधिक सहयोगमा एकीकृत विकासको आधारका लागि अध्ययन थालिएको भट्टराईले बताउनुभयो । परम्परागत पानीका मुहान तथा राजकुलोमाथिको अतिक्रमणले ढुङ्गेधारामा पानी आउन छाडेको उहाँको भनाइ छ ।