कीर्तिपुर नगरपालिकाको मेयर पदको बलियो दाबेदार नेपाली कांग्रेसले दुईजना महामन्त्रीलाई उतारेर अन्तिम चुनावी सभा गरेको छ । मध्यरातिदेखि शून्य समय सुरु हुने भएपछि दलहरूले मतदाता रिझाउने अन्तिम प्रयास गरिरहँदा कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कीर्तिपुरमा उतारेको हो । चुनावी सभाका क्रममा दुवै महामन्त्री कीर्तिपुर पुगेर पार्टीका उम्मेदवार कृष्णमान डंगोललाई साथ दिएका हुन् । खानेपानी र स्वास्थ्य सुधार आफ्नो मुख्य एजेण्डा बनाएका उनलाई बिहीबारको अन्तिम सभामा महामन्त्री थापा र शर्माले साथ दिएका हुन् ।उम्मेदवार डङ्गोलले बिहीबारको आमसभामा मतदाताको उत्साह देखिने बताएका थिए । २०७९ मा निर्वाचित कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको गत साउन १० गते राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो । नकर्मी नेपाली कांग्रेसबाटै मेयरमा विजयी भएका थिए । निर्वाचन आयोगले कीर्तिपुरसहित खाली भएका ४२ स्थानीय पालिका र २ स्थानीय समन्वय समितिमा मंसिर १६ मा उपनिर्वाचन गर्दैछ ।