परराष्ट्रमन्त्री डा. आरजु राणाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका योजनाहरु अनुदान स्वरुप अघि बढाउन चीन सकारात्मक रहेको बताउनुभएको छ । चीन भ्रमण सकेर स्वदेश फर्किनुभएकी परराष्ट्रमन्त्री राणाले आफूले चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्रीसँग गरेको कुराकानीमा बीआरआईअन्तर्गतका योजनाहरु अनुदानका रूपमा अघि बढाउन चीन सकारात्मक रहेको पाएको बताउनुभएको हो ।
देशभित्रको परिस्थितिका कारण नेपाल ऋण लिनसक्ने परिस्थितिमा नरहेको कुरा आफूले प्रश्टसँग राखेको र चीन सरकारले आफूहरु आन्तरिक सल्लाह गर्ने र निर्णय लिने एवम् नेपाललाई पनि आन्तरिक सल्लाह गरेर प्राथमिकताका साथ एजेण्डाहरु ल्याउन आग्रह गरेको उहाँले बताउनुभयो । उहाँले चिनियाँ परियोजना, बिआरआईको कार्यान्वयन योजना दुवै देशको सहमति र नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुने बताउनुभयो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अस्ति बिहिवार चीन गएकी राणाले हिजो चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि चीन जानुभएको हो । उहाँ फेरि सोमवार प्रधानमन्त्री ओलीसँगै चीन जाने कार्यक्रम छ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा सहभागी हुने उहाँ एक मात्रै मन्त्री हुनुहुन्छ ।