जोडिनुहोस
  • होमपेज
  • फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु

अन्तर्राष्ट्रिय

फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु

  • Sagarmatha TV
  • आइतवार, मंसिर १६, २०८१
फेंगल आँधीका कारण भारतमा तीनजनाको मृत्यु

बैङ्लोर, भारत । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीनजनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

फेंगल नाम दिइएको चक्रवात शनिबार राति ७० देखि ८० किलोमिटर प्रतिघण्टा (४३–५० माइल प्रतिघण्टा)को गतिमा तमिलनाड राज्यको तटीय क्षेत्रमा अवतरण गरेको थियो ।

तमिलनाडुराज्यका विपद् व्यवस्थापनमन्त्री केकेएसएसआर रामचन्द्रनले शनिबार राति चेन्नईमा आएको आँधीका कारण तीनजनाको मृत्यु भएको जानकारी दिए । तर, आँधीबाट भएको अन्य क्षति भने ‘न्यून’ रहेको उनले बताए ।

‘द टाइम्स अफ इन्डिया’ले मृतकको संख्या चार रहेको उल्लेख गरेको छ । आँधीका कारण कतिपय क्षेत्रमा बाढी आएको र रुखहरू ढलेको छ । तर, अनुमान गरिएभन्दा कम क्षति भएको उल्लेख गरेको छ । उत्तरी एटलान्टिक महासागरमा आँधीबेहरी वा उत्तर–पश्चिमी प्रशान्त महासागरमा आँधीबेहरी र आँधीजन्य मौसमी विपद् यस क्षेत्रका वस्तीहरूका लागि एक नियमित र घातक जोखिम हो ।

यो आँधी आइतबारपछि विस्तारै कमजोर हुँदै जाने अनुमान गरिएको छ । भारतको मौसम विज्ञान विभागले दक्षिणी क्षेत्रमा भारी वर्षा हुने चेतावनी दिएको छ । विभागले आँधीको जोखिम रहँदासम्म समुन्द्रमा माछा मार्ने वा अन्य गतिविधिबाट टाढा रहन स्थानीयलाई सुझाव दिएको छ । केही क्षेत्रमा मध्यमदेखि उच्च बाढीको जोखिम रहेको बताएको छ ।

फेंगलले यसै साताको सुरुमा श्रीलंकाको समुद्री तटमा अवतरण हुँदा ६ बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको थियो ।

जीवाश्म इन्धनको प्रयोगले हुने जलवायु परिवर्तनका कारण विश्वव्यापी तापमान वृद्धिसँगै शक्तिशाली आँधीबेहरीजन्य विपद् अझ बढ्न थालेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । समुद्रको तातो सतहले अधिक जलवाष्प छोड्छ, जसले आँधीबेहरीलाई अतिरिक्त ऊर्जा प्रदान गर्दछ र शक्तिशाली हावाहुरीमा परिणत गर्छ ।

राम्रो पूर्वानुमान र प्रभावकारी उद्धार योजनाले आँधीका कारण नाटकीय रूपमा हुने मृत्युको संख्यामा कमी ल्याएको छ । रासस/एएफपी

प्रचलन खबर

धेरै टिप्पणी गरिएका