जोडिनुहोस
  • होमपेज
  • सिरियामा सरकारी सेना र विद्रोहीबीच संघर्ष जारी, शुक्रबारयता मात्रै तीन सय मारिए

सिरियामा सरकारी सेना र विद्रोहीबीच संघर्ष जारी, शुक्रबारयता मात्रै तीन सय मारिए

काठमाडौं। सिरियामा विद्रोही सेनाले देशको दोस्रो ठूलो शहर एलेप्पोका अधिकांश क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सेना र विद्रोहीबीच संघर्ष जारी छ । इस्लामवादी हयात तहरीर अल–शाम विद्रोहीको नेतृत्वमा भएको ठूलो आक्रमणमा सिरियाका दर्जनौं सरकारी सैनिक मारिएको बताइएको छ ।

शुक्रबारयता तीन सय जना विद्रोही मारिएको सरकारी पक्षको दाबी छ । रूसको रक्षा मन्त्रालयले आफ्नो वायुसेनाले सरकारी सेनाको समर्थनमा विद्रोहीमाथि आक्रमण गरिरहेको जनाएको छ । यसैबीच अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्ले स्थितिलाई नजिकबाट निगरानी गरिरहेको र क्षेत्रीय राजधानीहरूसँग सम्पर्कमा रहेको जनाएको छ ।

एनएससीका प्रवक्ता सीन साभेटले सिरियाले राजनीतिक प्रक्रियामा संलग्न हुन अस्वीकार गरेको र रूस र इरानमाथिको निर्भरताले बसर अल–असदको शासनको पतन रेखा देखापरेको बताउनु भयो । रूस र इरानले भने विद्रोहीको आक्रमणमा अमेरिका र इजरायलको हात रहेको आरोप लगाएका छन् ।

इरानका विदेशमन्त्री अब्बास अराक्ची र रूसी विदेशमन्त्री सर्गेई लाभरोभबीचको टेलिफोन वार्तामा मध्यपूर्वलाई थप अस्थिर बनाउने योजनामा अमेरिका र इजरायलले भूमिका खेलेको भन्दै कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

शुक्रबार साँझ विद्रोही सेनाले शहरको आधाभन्दा बढी भाग आफ्नो नियन्त्रणमा लिएको दाबी गरेको थियो । सिरियाको सरकारी सेनाले उक्त समूहलाई सन् २०१६ मा पराजित गरेको थियो । तर फेरि विद्रोही सेनाले एलेप्पो शहरलाई आफ्नो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका