
हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव शून्य चार विन्दुमा पुगेको छ । आज बैंक, विकास बैंक, फाइनान्स र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज तारागाउँ रिजेन्सी होटल, विशाल बजार, खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो आठ अर्ब ८३ करोडको शेयर कारोबार भएकोमा आज तीन सय १४ वटा कम्पनीका दुई करोड ३० लाख कित्ता शेयर १० अर्ब ५४ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ५९ करोड रुपैयाँको शेयर खरिदरबिक्री भयो ।