महोत्तरी। जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका जन्तीलाई गएराति मटिहानीमा स्वागत गरिएको हो।
मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलसहितका जनप्रतिनिधि, जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित प्रमुखहरूसहित मटिहानी नगरवासीले जन्तीको स्वागत गरेका हुन्।
मटिहानीस्थित लक्ष्मीनारायण मठका मानमहन्थ, सामाजिक सङ्घसंस्थाका अगुवा, मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका आचार्य र राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकूल)का शिक्षक, वटुकहरू र महोत्तरी उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहभागी थिए।
यसपटकको रामजानकी महोत्सवमा सरिक हुन अयोध्यास्थित श्रीराम ट्रष्टका उच्च पदाधिकारी र साधुसन्तसहितको पाँच सय जनाको जन्ती टोली मटिहानी आइपुगेको हो। सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा प्रत्येक पाँचौँ वर्ष अयोध्याबाट जन्ती सजिएर आउने परम्परा छ। नेपाल प्रवेश गरेपछि मटिहानी पहिलो दिनको रात्रिविश्राम गरेर जनकपुर प्रस्थान गर्ने परम्पराअनुसार नै जन्ती सोमबार राति नै मटिहानी आइपुगेका हुन्।
मटिहानी राम–सीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँका रुपमा परिचित छ। राम–सीताको विवाहमा एउटा महत्त्वपूर्ण पाटो जोडिएको हुँदा आफ्नो ठाउँ विवाह महोत्सवको महत्त्वपूर्ण कडी रहँदै आएको नगरप्रमुख मण्डल बताउँछन्।
अयोध्याबाट आएका अतिथिलाई मिथिला भोजन (दालभात, सब्जी, चटनी, पापरतिलौरी, तरुवा र दही) गराइएको नगरप्रमुख मण्डलले बताए। सोमबार रात्रिविश्राम मटिहानीमा गरेका जन्ती आज बिहान जलेश्वर, पिपरा हुँदै जनकपुरधाम जाने छन्।