काठमाडौं। देशभर चिसो बढ्दै गएको छ। तापक्रम घटिरहेको छ। बुधबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ०८१ साल लागेयता काठमाडौंमा मापन गरिएको यो कम तापक्रम हो।
मंगलबार (हिजो) सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो । सोमबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।
काठमाडौंमा हालसम्मकै न्यून तापक्रम १९७८ मा मापन गरिएको थियो। सन् १९७८ जनवरी ११ मा काठमाडौंको तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो।
महाशाखाले बुधबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –५.५ डिग्री सेल्सियस छ। मंगलबार जुम्लाको न्यूनतम तापक्रम –४.१ थियो। सोमबार जुम्लाको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।
यस दिन वीरेन्द्रनगरको न्यूनतम तापक्रम ७.०, डडेलधुराको ७.४, ओखलढुंगाको ८, ताप्लेजुङको ८.५, दिपायलको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ।
महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ।