चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच जिल्ला प्रहरी कार्यालय अगाडि झडप भएको छ । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको समर्थनमा भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरिरहेका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
प्रहरीले प्रदर्शनस्थलमा अश्रु ग्याँस र पानीको फोहोरा पनि प्रहार गरेको छ । जिल्ला सरकारी वकील कार्यालय चितवनमा लामिछानेको बयान चलिरहेका वेला रास्वपा कार्यकर्ताहरूले चौबिसकोठीमा उनको समर्थनमा प्रदर्शन गरिरहेका थिए ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई काठमाडौंबाट हिजो बिहान चितवन लगिएको थियो । चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले मंसिर ५ गते लामिछाने सहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र नेचर हब इन्टरनेशनल प्रालिमा आबद्ध रामबहादुर खनाललाई आइतबार र सोमबार बयान लिइएको छ । उनीहरूलाई आइतबार चितवन ल्याएर सोमबार बयान सकिएको थियो ।