वीरगञ्ज। पर्साको वीरगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३२ हजार क्विन्टल सोनामन्सुली र १० हजार क्विन्टल जिरामसिनो धान खरिद गर्ने भएको छ ।
कम्पनीका सूचना अधिकारी समीर दाहालका अनुसार दुई वर्षसम्म बजार मूल्यभन्दा सरकारले तोकेको समर्थन मूल्य कम भएपछि किसानले कम्पनीलाई धान बेचेका थिएनन् । यो वर्ष बजारमूल्यभन्दा समर्थन मूल्य केही बढी भएकाले किसानले कम्पनीलाई धान बेच्ने अपेक्षा गरिएको बताए ।
गत सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथामिक खरिद समितिले निर्धारण गरेको मूल्यअनुसार कम्पनीले धान खरिद गर्न लागेको हो ।
समितिले जिरामसिनोको समर्थन मूल्य प्रतिक्विन्टल चार हजार तोकेको छ । सङ्घीय सरकारले सोनामन्सुलीको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ५८ रुपैयाँ ६२ पैसा निर्धारण गरेको छ ।