जोडिनुहोस
  • होमपेज
  • संसदीय समितिहरूले सुरू गरे कप–२९ को समीक्षा

संसदीय समितिहरूले सुरू गरे कप–२९ को समीक्षा

काठमाडौं। संसदीय समितिहरूले विश्व जलवायु सम्मेलन कप–२९ को समीक्षा सुरू गरेका छन् । विषयगत समितिहरूले कप–२९ मा सहभागी हुन अजरबैजानको राजधानी बाकु गएका सहभागीहरूको अनुभव सुन्नुका साथै नेपालले हासिल गरेको उपलब्धिबारे हिजो छलफल गरे ।

सहभागीहरुले नेपालले आगामी कप सम्मेलनमा थप तयारी गरेर जानुपर्नेदेखि आफ्नै पेभिलियनको व्यवस्था गर्नुपर्ने जस्ता सुझाव दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तर्गत गठित दिगो विकास उपसमितिले राखेको बैठकमा विश्व जलवायु सम्मेलनमा सहभागी भएर आएका प्रतिनिधिहरूले समीक्षा गरे । सहभागीहरूले कपमा नेपालको भरमग्दुर प्रयासका बीच पनि आशातीत परिणाम निकाल्न नसकेको बताए । उनीहरूले नेपालको आफ्नै पेभिलियन नहुनु, वार्ता गर्न नेपालबाट सबै क्षेत्र समेटिएको समूह नबनाउनु समस्याका रुपमा देखिएको जिकिर गरे ।

सहभागीहरूले स्थायी वार्ता टोली गठन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले अर्को वर्ष ब्राजिलमा हुने कप–३० लगायत नेपालले उपस्थिति जनाउने हरेक फोरमका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने देखिएको बताए ।

गत महिना अजरबैजानको बाकुमा सम्पन्न कप–२९ मा नेपालले जलवायु परिवर्तनले हिमालमा परेको असर र प्रभावबारे विश्व समुदायको ध्यानाकर्षण गराएको थियो । जलवायु वित्त नाम दिइएको कपले सन् २०२५ देखि लागू हुने गरी थप दुई सय बिलियन सहित तीन सय बिलियन अमेरिकी डलर रकम नोक्सानी कोषमा पुर्‍याउने निर्णय गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका