जोडिनुहोस
  • होमपेज
  • एनपीएलः कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटल पराजित

एनपीएलः कर्णाली याक्सको पहिलो जित, चितवन राइनोज ६ विकेटल पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले जारी प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको कर्णालीले कसिलो बलिङ गर्दा चितवनले १३० रन मात्रै बनाउन सक्यो । त्रिविको पिचमा बिहान ब्याटिङ गर्नुपर्दा चितवनले संघर्ष ग¥यो । सोमपाल कामीले ओपनर लुक बेन्केन्स्टाइनलाई खाता खोल्न दिएनन् । अर्का ओपनर दीपक बोहरा पनि आठ रनमै नन्दन यादवको बलमा आउट हुँदै मैदानबाट बाहिरिएपछि चितवनको इनिङ कमजोर बनेको थियो ।

एक समय २२ रनमा तीन विकेट गुमाएको चितवनको इनिङ कुशल मल्ल र रवि बोपाराले अघि बढाएका थिए । यी दुईले चौथो विकेटका लागि ६० रनको साझेदारी गरेका थिए । जीशन मक्सूदले २३ रन बनाएका कुशललाई आउट गर्दै साझेदारी ब्रेक गरे । लफ्टी इटनले नौ रन जोड्दा सोहेल तन्विरले खाता खोल्न सकेनन् ।

बोपाराले अन्तिम समयसम्म क्रिजमा रहेर ४० बलमा ५९ रनको योगदान गरे । यसअघि उनले पोखरा एभेन्जर्स विरुद्ध पनि ५१ रन प्रहार गरेका थिए । शरद भेषावकर ६ रन अविजित रहे । र अन्ततः चितवनले २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रनको योगफल बनायो । कर्णालीका लागि विपीन शर्माले तीन र जीसन मक्सूदले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ५३ रनमा पहिलो विकेट गुमायो । २५ रन बनाएर देव खनाल कुशल मल्लको बलमा एलबीडब्ल्यू आउट भए । कर्णालीका शिखर धवन र चाडविक वाल्टनले क्रमशः ४५ र ३० रनको पारी खेले । लफ्टी इटनले धवनलाई आउट गर्दा वाल्टनको विकेट बोपाराले लिए । ११ रन बनाएका अर्जुन घर्ती रन आउट भए ।

धेरै टिप्पणी गरिएका