काठमाडौं। दक्षिण कोरियाली अधिकारीहरूले सोमबार राष्ट्रपति युन सुक येओलमाथि विदेश यात्रामा प्रतिबन्ध लगाएका छन्। भ्रष्टाचार अनुसन्धान निकाय प्रमुखले राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाउन आदेश दिएको योनहाप समाचार संस्थाले जनाएको छ।
दक्षिण कोरियाको कानुन मन्त्रालयअन्तर्गतको आप्रवासन सेवा आयुक्त बेइ साङ–अपले संसदीय सुनुवाइका क्रममा पनि राष्ट्रपति युनमाथि विदेश यात्रामा प्रतिबन्ध लगाइएको बताएका छन्। युनसँगै उनको प्रशासनका थुप्रै उच्च अधिकारीमा पनि यात्रा प्रतिबन्ध लगाइएको छ।
राष्ट्रपति युनले गत साता अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेपछि उनीमाथि छानबिन भइरहेको छ। युनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो। त्यसपछि युनले आफ्नो कदम फिर्ता लिएका थिए।
त्यसलगत्तै युनविरुद्ध विपक्षी दलका सांसदहरूले संसद्मा महाभियोग प्रस्ताव पेश गरेका थिए। तर उनको दल पिपुल्स पावर पार्टी (पीपीपी) का सांसदहरूले गत आइतबार भएको महाअभियोगमाथिको मतदान बहिस्कार गरेका थिए। जसका कारण उनी महाभियोगबाट जोगिएका थिए। यद्यपि, विपक्षी पार्टीहरूले यसै हप्ता उनका विरुद्ध नयाँ महाभियोग प्रस्ताव दर्ता गर्ने तयारीमा छन्।
मार्सल लको घोषणापछि दशौं हजार दक्षिण कोरियालीहरू प्रदर्शनमा उत्रिएका थिए। पीपीपीले भने पार्टी नेता र प्रधानमन्त्रीले राष्ट्रपति युनको व्यवस्थित रूपमा पदत्याग नभएसम्म देश सञ्चालन गर्ने बताएका छन्।
पीपीपी नेता हान दोङ–हुनले आइतबार सार्वजनिक सम्बोधन गर्दै, राष्ट्रपति युनले राजीनामा नदिएसम्म विदेशी र घरेलु मामिलामा संलग्न नहुने बताएका छन्।