जोडिनुहोस
  • होमपेज
  • एनपिएलः १५ खेल सकिँदा अपराजित रहँदै जनकपुर बोल्ट्स शीर्ष स्थानमा

एनपिएलः १५ खेल सकिँदा अपराजित रहँदै जनकपुर बोल्ट्स शीर्ष स्थानमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन्। यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अंक तालिकामा शीर्ष स्थानमा रहेको छ। उसले चार खेलबाट आठ अंक जोडेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ। जनकपुर बोल्टस्ले उद्घाटन खेलमै विराटनगर किंग्सलाई आठ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा कर्णाली याक्सलाई आठ विकेटले नै हराएको थियो। तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको जनकपुरले चौथो खेलमा लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जितको यात्रालाई कायमै राखेको छ।

यसैगरी जारी एनपिएलमा चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जित तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ। यसले चार खेलबाट ६ अंक जोडेको छ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगरलाई ९० रनले, दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले तथा तेस्रो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको थियो। चौथो खेलमा भने सुदूरपश्चिम रोयल्स चितवन राइनोजसँग ३३ रनले हारेको थियो।

यस्तै चितवन राइनोज अंक तालिकाको तेस्रो स्थानमा छ। उसले हालसम्म चार खेल खेलेको छ। तीनमा जित र एउटामा हार बेहोरेको चितवन राइनोजको ६ अंक छ। चितवन राइनोजले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई पाँच विकेटले तथा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८७ रनले हराएको थियो। तेस्रो खेलमा कर्णाली याक्ससँग ६ विकेटले हारेको चितवन राइनोजले चौथो खेलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको थियो।

कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ। कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेटले हारेको थियो। कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो।

पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ। उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ। पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो। तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।

काठमाडौं गुर्खाज दुई अंकसहित छैटौँ स्थानमा छ। काठमाडौं पहिलो खेलमा चितवनसँग पाँच विकेटले हारेको थियो। दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले हराएको काठमाडौं तेस्रो खेलमा सुदूरपश्चिमसँग ७२ रनले पराजित भएको थियो।

विराटनगर किंग्स दुई अंकका साथ सातौँ स्थानमा छ। विराटनगरले तीन खेलमा हार तथा एउटामा मात्र जित निकालेको छ। पहिलो खेलमा विराटनगर जनकपुरसँग आठ विकेटले हारेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले हारेको विराटनगरले तेस्रो खेलमा भने लुम्बिनीलाई दुई विकेटले पराजित गरेको थियो। चौथो खेलमा विराटनगर कर्णालीसँग सात रनले हारेको थियो।

लुम्बिनी लायन्स चारवटै हेलमा हार बेहोर्दै अंक तालिकाको पुछारमा छ। लुम्बिनी पहिलो खेलमा विराटनगरसँग दुई विकेटले, दोस्रो खेलमा पोखरासँग १० विकेटले, तेस्रो खेलमा सुदूरपश्चिमसँग ४५ रनले तथा चौथो खेलमा जनकपुरसँग एक रनले पराजित भएको थियो।

मंगलबार एनपिएलमा दुई खेल हुनेछन्। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका