
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८० रनको पारी खेले । साद बिन जाफरले व्यक्तिगत ५२ रन बनाएर टोलीलाई राम्रो साझेदारी दिए । एक समय लुम्बिनीको धरमाराएको पारीमा रोहित र जाफरको योगदान उल्लेख्य रह्यो । ४९ रनमा चार विकेट गुमाएपछि लुम्बिनीको पारी संकटमा परेको थियो ।
ओपनर आशुतोष घिरैयालाई दोस्रो ओभरमा रिजन ढकालले एक रनमा आउट गरे । सोही ओभरमा रिजनले उन्मुक्त चन्दलाई खाता खोल्न दिएनन् । अर्जुन साउद १५ रनमा आउट भए । उनको विकेट रन्जित कुमारले लिए । टम मुर्सलाई कुशल मल्लले १० रनमा क्याच आउट गरेपछि लुम्बिनी दबाबमा आएको थियो । तर पाँचौं विकेटका लागि रोहित र सादले एक सय १४ रनको साझेदारी गर्दै सम्हाले ।