जोडिनुहोस
  • होमपेज
  • पोखरा एभेन्जर्समाथी कर्णाली याक्सको सजिलो जित

पोखरा एभेन्जर्समाथी कर्णाली याक्सको सजिलो जित

काठमाडौं। विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लगातार तेस्रो जित हात पारेको छ।

सुरुवाती दुई खेलमा पराजित भएको कर्णालीले मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको हो।

पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा ३ विकेटको क्षतिमा पूरा ग¥यो।

कर्णालीको जितमा गुल्सन झाले नटआउट ४९ रन जोडे। एक रनले अर्धशतकबाट विमुख भएका उनले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गरे।

त्यसअघि कर्णालीका ओपनर भने चल्न सकेनन्। देव खनाल शून्य र बाबर हायत ७ रनमा आउट भए।

देवलाई विपिन खत्रीले एलबिडब्लूको धरापमा परे। बाबरलाई सागर ढकालले बोल्ड गरे। चाडविक वाल्टनले ३४ बलमा ४२ रन जोडे।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिनको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरालाई कर्णालीले अस्ट्रेलियन अलराउन्डर विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि १६.४ ओभरमै अलआउट गर्यो।

अस्ट्रेलियाको यू–१९ टोलीका पूर्वकप्तान बोसिस्टोले चार ओभरमा २८ रन खर्चिए। बोसिस्टो जारी एनपिएलको एकै इनिङ्ग्समा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन्। उनले १४औं ओभरमा तीन विकेट लिएका थिए। सो ओभरमा उनले दिलीप नाथलाई ३ रन, माइकल लिस्कलाई २ रन र नारायण जोशीलाई १ रनमा आउट गरे। नाथलाई क्याच गराएका उनले लिस्कलाई बोल्ड र नारायणलाई एलबिडब्लूको धरापमा आउट गरे। १६औं ओभरमा उनले रेमन्ड राइफरलाई २० रनमा आउट गरेका थिए। त्यसअघि उनले कुशल भुर्तेललाई दशौं ओभरमा १० रन र १२औं ओभरमा माट क्रिचलीलाई शून्यमा बोल्ड गरे।

पोखराका ओपनरद्वय दिनेश खरेलले १९ बलमा २६ रन र आन्द्रेस गौसले १२ बलमा २५ रन जोडे। खरेललाई युनिस ठकुरीले छैटौं ओभरमा बोल्ड गर्दा विपिन शर्माले गौसलाई चौथो ओभरमा बोसिस्टोबाट क्याच गराए। खरेल र गौसबीच ४६ रनको साझेदारी हुनुबाहेक पोखराको इनिङ्ग्स कुनै बेला पनि सम्हालिन सकेन।

बलिङमा बोसिस्टोले ६ विकेट लिँदा विपिन, युनिस र कप्तान सोमपाल कामीले १–१ विकेट लिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका