काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बुधबारको पहिलो खेलमा जनकपुर बोल्ट्ससामू सुदूरपश्चिम रोयल्सले सामान्य योगफल तयार गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले ३३ र सैफ जैबले २१ रन बनाए । ईशान पाण्डेले १७ र ब्राण्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरका लागि किशोर महतोले ३४ विकेट लिए । जनकपुरका लागि शेर मल्ल,र अरनिको यादवले २–२ तथा हर्ष थाकेरले १ विकेट लिए ।
सुदूरपश्चिमविरुद्ध जित निकालेर लिग चरणको दुई खेल अगावै प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा जनकपुर रहेको छ । जनकपुरले विराटनगर, कर्णाली याक्स, लुम्बिनी र पोखरालाई पराजित गरेको थियो । यो खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउँनुको साथै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा सुदूरपश्चिम रहेको छ ।
सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । पछिल्लो खेलमा भने चितवन राइनोजसँग हार बेहोरेको थियो ।