जोडिनुहोस
  • होमपेज
  • काभ्रेका वर्षाजन्य विपद् पीडितको जीविका कष्टकर बन्दै

काभ्रेका वर्षाजन्य विपद् पीडितको जीविका कष्टकर बन्दै

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले असोज दोस्रो हप्ता घर बगाएदेखि छिमेकीको घरमा शरण लिइरहनुभएको छ । घरसहित अन्नपात र लत्ताकपडासमेत गुमाएपछि विस्थापित भएको उहाँको परिवार विचल्लीमा छ । पाल टाँगेर बस्न चिसो बढेको छ । घर बनाउने जग्गा त बाँकी छैन नै सरकारले दिने भनेको रकमको पनि टुङ्गो छैन ।

असोज दोस्रो हप्ताको बाढी पहिरोबाट पीडित बनेका काभ्रेका सयौं परिवारको अवस्था फडिन्द्रप्रसाद तिमल्सिनाको जस्तै छ । घरसहित परिवारका सदस्य गुमाएका ७९ सहित घर भत्किएका सयौं परिवारमध्ये कोही छिमेकीकोमा त कोही पालमा जीविका चलाइरहेका छन् । घर, बारी बगाएर उजाडिएको बस्ती तथा बगाएको खेतको नामोनिशान नहुँदा कतिपय परिवार विच्छिप्त अवस्था भेटिन्छन् ।

बेथानचोक र रोशी गाउँपालिका तथा पनौती नगरपालिकाका पीडितहरूको अवस्था दयनीय बनेको छ । तर आफूहरूको समस्या समाधानका लागि पालिका, प्रदेश र सङ्घीय सरकार कसैले पनि तदारुकता नदेखाएका पीडितहरू बताउँछन् । क्षतिको यकिन विवरण तयार नहुँदा सरकारले दिन लागेको अल्पकालीन राहत रकम समेत पीडितहरूले पाएका छैनन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले गएको कात्तिक अन्तिम हप्ता नै बाढी, पहिरोले जनधनको क्षति पुर्‍याएकोबारे छिटो पूर्ण विवरण पठाउन पालिकालाई निर्देशन दिए पनि त्यसको कार्यान्वयन भएको छैन । पालिकाले विवरण पठाएपछि मात्रै राहत तथा पुनर्वासको कार्यक्रम शुरू हुने भएकोमा पालिकाहरूले विवरण नै नपठाएका काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले बताउनुभयो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका