अन्तर्राष्ट्रिय
गाजामा स्थायी युद्धविराम हुनुपर्ने प्रस्ताव राष्ट्रसंघ महासभाबाट अत्यधिक बहुमतले पारित
काठमाडौं। इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच गाजामा विनाशर्त स्थायी युद्धविराम गर्न र हमासको नियन्त्रणमा रहेका सबै बन्धक तत्काल रिहा गर्न माग गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघ महासभाले अत्यधिक बहुमतले पारित गरेको छ । १९३ सदस्यीय महासभामा १५८ राष्ट्रले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने नौ राष्ट्रले यसको विपक्षमा मतदान गरेका थिए । १३ राष्ट्र भने यसमा तटस्थ बसे ।
नेपालले प्रस्तावको पक्षमा मतदान गरेको छ भने अमेरिका र इजरायल लगायतका नौ देशले विपक्षमा मतदान गरेका छन् । महासभाले गाजामा कार्यरत राष्ट्रसंघीय सहायता निकाय उनर्वाको पक्षमा समर्थन जनाउँदै अर्को प्रस्ताव समेत पारित गरेको छ । सो प्रस्तावमा उनर्वाको काम कारबाहीमाथि जनवरीको अन्त्यतिरदेखि प्रतिबन्ध लगाउने सम्बन्धी इजरायलद्वारा पारित नयाँ कानुनको आलोचना गरिएको छ ।
प्रस्तावमा उनर्वालाई प्राप्त राष्ट्रसंघीय म्यान्डेटको सम्मान गर्न, उनर्वालाई गाजामा विना अवरोध मानवीय सहायता प्रदान गर्नमा सहयोग पु¥याउन र अन्तर्राष्ट्रिय कानुनप्रतिको प्रतिबद्धता पालना गर्न इजरायलाई आह्वान गरिएको छ । यो प्रस्तावको पक्षमा १५९ र विपक्षमा नौ मत परेको थियो भने ११ राष्ट्र तटस्थ बसेका थिए ।
राष्ट्रसंघ महासभाद्वारा पारित प्रस्ताव बाध्यात्मक नभए पनि यसले गाजा युद्धका सम्बन्धमा विश्वको दृष्टिकोण प्रतिविम्बित गर्ने भएकाले राजनीतिक रूपमा यसलाई महत्त्वपूर्ण मानिन्छ ।
इजरायलले विगत १४ महिनादेखि गाजामा जारी राखेको युद्धमा ४४ हजार आठ सयभन्दा बढी प्यालेस्टिनी मारिएका छन् । प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्षको अक्टोबर ७ मा इजरायलमा अचानक गरेको आक्रमणमा करिब १२ सय मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए । तीमध्ये ११७ जना बन्धक रिहा भइसकेका छन् भने ३८ जनाको शव इजरायली सेनाले फेला पारेको छ ।
हमास नियन्त्रणमा अझै पनि ९६ जना बन्धक रहेको इजरायलको विश्वास रहेको छ । नेपाली विद्यार्थी विपीन जोशी पनि हमासको नियन्त्रणमा रहेका छन् ।