काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार १२ः१५ बजेका लागि बोलाइएको थियो। बुधबार बसेको बैठकले नै आजको बैठकको समय तय गरेको थियो।
संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेका सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ।
बिहीबार समितिको बैठक १२ः१५ पछि सुरु भएको थियो । तर, बैठकमा उपस्थित हुन भनेर सांसदहरूलाई भने बिहान साढे १० बजे मात्रै जानकारी गराइएको थियो। बैठकबारे २ घण्टाअगाडि मात्रै एसएमएसमार्फत जानकारी गराइएको सांसदहरूले बताएका छन्।
स्वतन्त्र सांसद अमरेशकुमार सिंह, माओवादी सांसदहरू माधवप्रसाद सापकोटा, सुशीला श्रीपाइलीलगायतले समिति बैठक बस्नु २ घण्टा पनि समय नदिएर एसएमएसमार्फत जानकारी पठाइएको भन्दै आपत्ति जनाएका थिए। सांसद सापकोटाले भने बैठकमा संशोधनका विषयमा आफ्ना कुरा नराखी बाहिरिए।
संशोधनका विषयबारे थप तयारी गर्ने समय नपाइएको भन्दै उनले अर्को दिन समय उपलब्ध गराउन भन्दै बैठकबाट बाहिरिएका हुन्।
’यो म्यासेज पढेपछि म ठूलो धर्मसंकटमा परेँ। बैठकमा जाउँ तयारी पुगेको छैन, नजाउँ सार्वजनिक रुपमा सांसदहरूका बारे धारणा राम्रो छैन। त्यसैले म के निष्कर्षका साथ यहाँ आएको हो भने समितिमा जान्छु र छलफलको व्यवस्थापन भएन भनी सभापतिमार्फत समितिलाई भन्छु र छलभाग लिन्न,’ सापकोटाले भने, ’कम्तीमा १ रात त तपाईंले समय दिनुपर्यो नि। २४ बुँदामा संशोधन दर्ता गराएको छु, हाँसो ठट्टाले त पार लाग्दैन।’
विधेयकबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला संशोधनकर्ता सांसदहरूलाई १२ बजेको बैठकका लागि साढे १० बजे सन्देश पठाएर सक्रियताका साथ काम गर्न नसकिने सापकोटाको भनाइ थियो। उनले अर्को बैठकमा तयारीसहित छलफलमा भाग लिन पाउने व्यवस्था गर्न आग्रह गरेका थिए।
समिति सभापति रामहरि खतिवडाले भने बुधबार नै सांसदहरूलाई बोलाउने निर्णय भएको बताए। राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ९० जना संशोधनकर्ता सांसदलाई बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ।