जोडिनुहोस
  • होमपेज
  • काठमाडौंलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाडौंलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा

काठमाडौं। काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

काठमाडौंले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले २७, हर्ष ठाकरले नटआउट २५ रन बनाए । काठमाडौंका कप्तान करण केसीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाडौंका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए । जनकपुरका ललित राजवंशी र शेर मल्लले ३/३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।

यो जीतसँगै जनकपुर ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । काठमाडौं ५ खेलमा ४ अङ्कसहित पाँचौं स्थानमा छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका