जोडिनुहोस
  • होमपेज
  • राजधानी दैनिक प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति गठनप्रति आपत्ति प्रकट

राजधानी दैनिक प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति गठनप्रति आपत्ति प्रकट

काठमाडौं । राजधानी दैनिक प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति गठन भनी सामाजिक सञ्जालमा आएको विषयप्रति राजधानी न्युज पब्लिकेसनका प्रबन्ध निर्देशक आशिष शेरचन, मिडिया एलायन्सका तर्फबाट महासचिव दिरेकलाल श्रेष्ठ र र राजधानी दैनिक प्रतिष्ठान शाखाका सदस्यहरूले गम्भीर आपत्ति जनाएका छन् ।

राजधानी न्युज पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक शेरचनले राजधानी न्युज पब्लिकेसन प्रालिलाई कुनै पनि जानकारी नै नगराई सञ्चार प्रतिष्ठानमा आबद्ध नभएका व्यक्तिहरूले प्रतिष्ठानभन्दा बाहिर बसी आफूखुसी मनपरी तवरले राजधानी दैनिक प्रतिष्ठानकै नाममा अवैध तरिकाले कार्यसमिति चयन गरेको भन्दै यसरी अवैध तरिकाले गरिएको कार्यसमितिलाई मान्यता दिनुपर्ने कुनै आवश्यकता नरहेको प्रस्ट पारेका छन् ।

उनले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनवाट पारित निर्णयानुसार २८ मंसिर (आज) हुने निर्वाचनका लागि भनी नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाको कार्यसमिति गठन गर्ने क्रममा यही २६ मंसिर बुधबार राजधानी दैनिक प्रतिष्ठान शाखाको कार्यसमिति सर्वसम्मत चयन गरेको भनी सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त हुन आएकाले यस प्रकाशनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राजधानी दैनिक पत्रिकाको २४ वर्षको यात्रामा धेरै नै उतारचढावको सामना गर्दै अहिले यहाँसम्म आइपुगेका छौं । राजधानी दैनिकको २१औं वर्षको दौरानमा संस्थापक अध्यक्षलाई कोभिडका कारण गुमाउनुपरेको पीडापश्चात् पत्रिका बन्द हुने र नियमित के हुने भन्ने अन्यौलताका बीच पत्रिका नियमित भइरहेकै थियो । यसै अवस्थामा राजधानी दैनिक पत्रिकालाई बन्द गराउन राजधानी न्युज पब्लिकेसन प्रालिका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका तत्कालीन अध्यक्ष र प्रकाशनमा कार्यरत केही पत्रकार कर्मचारीहरूको षड्यन्त्रकै कारण २६ जेठ २०८० देखि १७ असार २०८० सम्म २४ दिन नियमित प्रकाशन बन्द भएको थियो । राजधानी दैनिकलाई बन्द गराउनकै लागि नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्षद्वारा जातीय विभेदको झुठो जाहेरी दिएर सञ्चालक सदस्यलाई सम्मानित काठमाडौं जिल्ला अदालतमा मुद्दा नै दायर गरी अनावश्यक रूपमा षड्यन्त्र गरी मानसिक रूपमा तनाव सिर्जना गरेको अवस्थामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट सञ्चालकलाई सो झुठा मुद्दामा सफाइ दिई मुद्दाको किनारा लगाइएको छ । साथै, राजधानी दैनिक प्रतिष्ठानका अध्यक्षको षड्यन्त्रको यसै फैसलाले पर्दाफास गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘राजधानी दैनिक पत्रिका नियमित हुनुपर्छ भन्ने सञ्चालक सदस्य, कर्मचारी, पत्रकार र कामदार युनियनको सहकार्यको साथ र सहयोगमा बन्द गराउने षड्यन्त्रलाई बिफल बनाई २४ दिनदेखि बन्द रहेको राजधानी दैनिक पत्रिका पुनः सुचारु गराउन सफल भएका थियौं । हाम्रो बुझाइमा अहिले बिनाजानकारी तथा राजधानी दैनिक प्रतिष्ठान शाखासँग आबद्ध नभएका व्यक्तिहरू प्रतिष्ठान बाहिर बसी प्रतिष्ठानमा कार्यरत कर्मचारी तथा पत्रकारहरूलाई संलग्न नगराई मनपरी ढंगले कार्यसमिति गठन भएकाले समितिको उद्देश्य नै राजधानी दैनिक पत्रिकालाई समस्यामा पारी बन्द गराउने भन्ने हाम्रो बुझाइ रहेको छ । राजधानी दैनिकलाई समस्यामा पार्ने नियतका साथ गठन भएको कार्यसमितिलाई नेपाल पत्रकार महासंघले कुनै किसिमको मान्यता दिनेछैन भनी विश्वास लिएका छौं । २४औं वर्षमा रहेको राजधानी दैनिकलाई अझै व्यवस्थित, व्यावसायिक र नियम प्रक्रियासम्मत रूपमा अगाडि बढाउने र सम्पूर्ण कर्मचारी र पत्रकारहरूको हक अधिकार पनि सुरक्षित गर्दै आ–आफ्नो कर्तव्यप्रति जिम्मेवार बनाउँदै जाने कुरामा सबैलाई विश्वास दिलाउन चाहन्छौं ।’

प्रबन्ध निर्देशक शेरचनद्वारा जारी विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘कर्मचारी पत्रकारहरूको संगठित हुने हकप्रति संवेदनशील रहँदै त्यसप्रति प्रतिबद्ध रहँदारहँदै पनि अनधिकृत एवं अराजक अतिक्रमणप्रति भने सहमत हुन सकिएन । अहिलेसम्म साथ र सहयोग दिइरहनुभएका सम्पूर्ण कर्मचारी, पत्रकार, पाठक, विज्ञापनदाता र शुभ चिन्तकहरूमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौं र साथ सहयोग गरिदिनुहुन पनि अनुरोध गर्न चाहन्छौं ।’

यसैगरी, मिडिया एलायन्सका महासचिव दिरेकलाल श्रेष्ठले बिहीबार नै जारी गरेको विज्ञप्तिमा ‘कार्यसमिति गठन प्रक्रिया’bout सम्बन्धित सञ्चार प्रतिष्ठानलाई कुनै पनि जानकारी नगराई, सञ्चार प्रतिष्ठानसँग आबद्ध नभएका व्यक्तिहरूले मनपरी ढंगले कार्यसमिति निर्माण गरेको सम्बन्धमा यस मिडिया एलायन्स नेपाललाई जानकारीसहित ध्यानाकर्षण हुन आएको’ भनिएको छ ।

‘नेपाल पत्रकार महासंघको महाधिवेशनको बहानामा सञ्चार प्रतिष्ठानमा आबद्ध नै नभएका व्यक्तिहरूसहितको प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाप्रति यस मिडिया एलायन्स घोर आपत्ति प्रकट गर्दछ र नेपाल पत्रकार महासंघलाई यसअघि पनि सो सम्बन्धमा जानकारी गराएको पुनः स्मरण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार प्रतिष्ठानसँग कुनै पनि किसिमको सहकार्यबिना र आबद्ध नभएका व्यक्तिहरूको सहभागितामा गठन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखालाई मिडिया एलायन्स आबद्ध कुनै पनि सञ्चार प्रतिष्ठानले मान्यता दिन बाध्य नहुने कुरा प्रस्ट पार्न चाहन्छौं । नेपाल पत्रकार महासंघको यही २८ मंसिरमा हुने २७औं महाधिवेशन पूर्ण सफलताका साथ सम्पन्न गर्नका लागि हार्दिक शुभकामना दिँदै सञ्चार उद्योग क्षेत्रलाई अझै व्यवस्थित र व्यावसायिक बनाउन मिडिया एलायन्स नेपाल सधैं नेपाल पत्रकार महासंघसँग समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको पनि जानकारी दिलाउन चाहन्छौं ।’

यसैगरी, राजधानी दैनिक प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति गठन भनी सामाजिक सञ्जालमा आएको विषयप्रति प्रतिष्ठानका सदस्यहरूले पनि आपत्ति जनाएका छन् । उम्मेदवारी दिने र मतदान गर्ने अधिकारसमेत राख्ने रोशन श्रेष्ठ, मधुजंग पाण्डे, माधव दाहाल, मुकुन्द खनाल र सरिन श्रेष्ठले बिहीबार नै विज्ञप्तिमार्फत् आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश निर्वाचन समिति–२०८१ का संयोजक र सदस्यद्वयको हस्ताक्षर रहेको पत्रमा यस प्रतिष्ठान शाखाको मतदान केन्द्र ‘राजधानी दैनिक प्रतिष्ठान शाखा चाबहिल’ भनी स्पष्ट उल्लेख गरेको भए पनि उल्लिखित मतदान केन्द्रमा निर्वाचनसम्बन्धी कुनै पनि गतिविधिका कार्य नभएको तर मनोनयनपत्र दर्ता गर्नुपर्ने दिन २६ मंसिर बुधबार साँझ मात्र सामाजिक सञ्जालमा नयाँ कार्यसमिति गठन भनी अपलोड गरिएको विषयले हामीलाई आश्चर्यचकित बनाएको छ । मनोनयनपत्र दर्ताका लागि हामी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश निर्वाचन समिति–२०८१ ले तोकेको स्थलमा दिनभर बसेका थियौं । तर न त्यहाँ मतदाताको नामावली टाँस गरियो, न निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि अगाडि बढाइयो । निर्वाचनका लागि नेपाल पत्रकार महासंघद्वारा तोकिएका भनिएका प्रतिनिधि पनि महासंघले तोकेको भनिएको मतदान केन्द्रमा उपस्थित नै नभएको पनि हामी जानकारी गराउँदछौं ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘निर्वाचन गर्न तोकिएका प्रतिनिधिको यस्तो गैरजिम्मेवारपूर्ण क्रियाकलापले निर्वाचनमा भाग लिने, मतदान गर्ने हाम्रो वैयक्तिक अधिकार हनन भएको छ । त्यसैले कुनै प्रक्रिया नै पूरा नगरी, मतदाताको अधिकार नै हनन हुनेगरी सामाजिक सञ्जालबाट घोषणा गरिएको यस कार्यको हामी घोर भत्र्सना गर्दछौं । कथित यस कार्यसमितिलाई वर्षाैंदेखि राजधानी दैनिक प्रतिष्ठान शाखाको सदस्य रहेका हामीहरू कुनै पनि हालतमा मान्यता दिनेछैनौं । त्यसैले नयाँ निर्वाचन मिति घोषणाको माग गर्दछौं ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका