जोडिनुहोस
  • होमपेज
  • विराटनगरले चितवनलाई हरायो, प्लेअफको झिनो सम्भावना कायमै

विराटनगरले चितवनलाई हरायो, प्लेअफको झिनो सम्भावना कायमै

काठमाडौं। बसिर अहमदको अलराउण्ड प्रदर्शनमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई ५१ रनले पराजित गरेको छ। एनपीएलमा विराटनगरको यो दोस्रो जित हो।

यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना कायम राखेको छ। चितवनको भने ६ खेलमा यो तेस्रो हार हो र प्लेअफ पुग्ने चितवनको अभियानमा ठूलो धक्का लागेको छ। ६ खेलबाट ६ अंकसहित चितवन चौथो स्थानमै यथावत छ। चितवनले अब लिगको अन्तिम खेलमा शनिबार प्लेअफमा छनोट भइसकेको जनकपुर बोल्ट्सको सामना गर्नेछ।

विराटनगरको जितमा अलराउण्ड प्रदर्शन गरेका बसिरले ब्याटिङमा अर्धशतक बनाए भने किफायती बलिङ गर्दै १ विकेट लिए। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। चितवनका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ४२ रन बनाए।

यसैगरी ओपनर सन्तोष कार्कीले २५ बलमा २८, कप्तान कुशल मल्लले २५ बलमा २५ र रवि बोपाराले २४ बलमा २० रन बनाए। बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। बसिरले ४ ओभरमा १ मेडन राखद् १९ रन मात्र खर्चेर १ विकेट लिए। यस्तै क्रसि सोल र सुवास भण्डारीले पनि १–१ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले बसिर अहमदको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो। एनपीएलमा आफ्नो पहिलो अर्धशतक बनाएका बसिरले अविजित ६८ रन जोडे। उनले ४४ बल खेल्दै समान ४ चौका र छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले अविजित ३३ रन बनाए। मार्टिन गप्टिलले ४५ रन बनाए।

चितवनले फिल्डिङमा चुक्दा बसिर र गप्टिलले त्यसको फाइदा उठाएका थिए। चितवनले दुवैको क्याच छुटाएको थियो। चितवनका सोहेल तनविरले नवौँ ओभरमा बसिर ८ रन हुँदा क्याच ड्रप गरेका थिए। यस्तै १३औं ओभरमा चितवनका कप्तान कुशल मल्लले विराटनगरका गप्टिलको क्याच ड्रप गरेका थिए। जुन चितवनका लागि महँगो सावित बन्यो।

कमजोर सुरुवात गरेपनि इनिङ्सको अन्तिममा आक्रामक बनेको विराटनगरले अन्तिम चार ओभरमा ६९ रन बनाएको थियो। कुनै बेला १० रनमै ३ विकेट गुमाएको विराटनगर ३३–४ को अवस्थामा थियो। तर बसिर र मार्टिन गप्टिलले पाँचौ विकेटका लागि ६५ रनको महत्वपूर्ण साझेदारी गरे।

ओपनर लोकेश बम र वान डाउनमा आएका दीपक बोहरा पहिलो ओभरमै आउट भएका थिए। स्कट एडवार्ड्स दोस्रो ओभरमा आउट भए। निकोलस किर्टोन सातौँ ओभरमा आउट भएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो। तर गप्टिल र बसिरले अर्धशतकिय साझेदारी गर्दै विराटनगरको स्कोर उकासे।
बसिरले राजेश पुलामीसँग मिलेर छैटौं विकेटका लागि अविजित ८३ रनको अर्को अर्धशतकीय साझेदारी गरे।

बलिङमा चितवनका रिजन ढकालले ४ ओभरमा ४० रन खर्चर २ विकेट लिए। सोहेल तनविर, बासिल हमिद, कप्तान कुशल मल्लले १–१ विकेट लिए। एनपीएलमा डेब्यु खेलमा यूएईका हामिदले ४ ओभरमा १५ रन मात्र खर्चिए।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका