काठमाडौं । नेपालको वित्त क्षेत्र साइबर आक्रमणको बढी जोखिममा रहेको सरोकारवालाले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी विज्ञले यस्तो बताएका हुन् ।
कार्यक्रममा साइबर सुरक्षामा काम गर्ने कम्पनी लगपोइन्टका प्रमुख सुरक्षा सूचना अधिकारी रोशन पोखरेलले प्रविधिको विकासले जनजीवन सहज भए पनि पर्याप्त सतर्कता नअपनाउँदा साइबर आक्रमणमा नेपालको स्थिति जोखिमपूर्ण रहेको बताए ।
नेपालमा साइबर सुरक्षाका बारेमा जानकारी कम भएको र विभिन्न माध्यमबाट ‘स्क्याम’ भइरहेको उनले उल्लेख गरे ।बिजसर्भ आईटीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रभात पोखरेलले नेपालमा साइबर आक्रमणको दर बढ्दो भएको बताए । यसको सुरक्षाका विषयमा विद्यालयस्तरबाटै सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए ।
नेपालमा इन्टरनेट प्रयोगकर्ता बढ्दै जानु, ई–कमर्स फस्टाउनुसँगै ती क्षेत्र अपराधीको निसाना बन्दा जोखिम र चुनौती पनि थपिँदै गएको उनले बताए । साइबर आक्रमणका अधिकांश घटना विकसित मुलुकमा हुने गरेको र त्यसको कारण डेटामा पहुँच पुर्याउनु रहेको उनको भनाइ थियो ।
विश्वमा सैन्य, वित्त र व्यापारिक क्षेत्रमा साइबार आक्रमण बढी हुने गरेको उनले उल्लेख गरे । यसबाट नेपालमा भने बैंकिङ क्षेत्र र ई–कमर्स बढी जोखिममा रहेको उनले बताए ।